सदस्य:Deepak Thakuri/प्रयोगपृष्ठ

म नेपाली पढ्दै पढ्दिनँ

– दीपक ठकुरी

‘खोइ गृहकार्य ?’

‘ग¥या छैन सर,’ निकै बेरपछि जवाफ आउँछ ।

‘किन गरिनौ ?’  म रिसाएझैं गर्छु ।

उनको आँखामा आँसु टिलपिलाउन थाल्छ । शिर निहुरिँदै जान्छ । थरथराउँदै उनी भन्छिन्, ‘मलाई नेपाली पढ्न आउँदैन ।’

म तीन छक्क पर्छु, कक्षा नौको विद्यार्थीलाई नेपाली पढ्न नआउने खबर सुनेर । चारैतिर हेर्छु । अनि पुनः ठोक्किन्छुु उनकै अनुहारमा । भन्छु झोकिँदै, ‘तिमीलाई के चाहिँ आउँछ ?’

‘इंग्लिस, म्याथ, साइन्स..........,’ उनी अड्कीअड्की बोल्छिन् ।

म नेपाली किताब उनीअघि राखिदिन्छु । उनी किताब पल्टाउँदै जान्छिन् । डा. सुधा त्रिपाठीद्वारा लिखित ‘म को हुँ ?’ शीर्षकको निबन्धमा पुग्छिन् । म उनलाई पढ्न निर्देशन दिन्छु । उनले म को हुँ ? भन्न दुई मिनेट लगाउँछिन् । ओकार, उकार  आदि ठम्याउन नसकेको देखेर कक्षा हासोले भरिन्छ । म टाउकोमा हात राखेर लामो सुस्केरा हाल्छु ।

दिन प्रतिदिन नेपाली अक्षर पढ्न नसक्ने विद्यार्थीको संख्या थपिँदै गएको छ । यो समस्या नेपालका निजी विद्यालयमा विकराल बन्दै  छ भने सामुदायिक विद्यालयमा पनि फस्ट्याउँदै छ । नेपाली विषयलाई विद्यालय तहमा अनिवार्य विषयका रूपमा शिक्षण गरिन्छ । यसले विद्यार्थीमा भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । तर पाठ्यपुस्तकको उद्देश्य पूरा हुन सकेको छैन ।

विद्यार्थी  कविता आँखा चिम्लेर वाचन गरे पनि अन्य पाठ्यांश कनीकनी पढ्छन् । भाषिक सीपमध्ये सहज रूपमा बोलाइ सीप सिक्न सकिने भएकाले साथीभाइको आवाजलाई अनुकरण गर्दै जाँदा कविता कण्ठस्थ भएको हो । विद्यालयस्तरका विद्यार्थीले बोलेको ध्यान दिएर सुन्ने हो भने अनेक गल्ती भेटिन्छन् । उनीहरू  इंग्लिस, हिन्दी र नेपालीलाई मिश्रण गरेर बोल्छन् । भाषा तŒवको नियम भताभुंग पार्छन् । लिंग भेद त अस्तित्वहीन बन्दै गएको छ, उनीहरूको बोलाइ ।

विद्यार्थीहरू लेखाइ र पढाइ सीपमा कमजोर हुँदै गएका छन् । ९–१० कक्षामा पढ्ने विद्यार्थीले आफ्नो नामसमेत शुद्धसँग लेख्न सक्दैनन् । चुट्किलाले भन्दा दोब्बर हास्न पाइन्छ, नेपाली विषयका उत्तर पुस्तिका पढ्दा । सहज रूपमा आफ्ना अभिव्यक्ति लेख्न नसक्ने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपाली समाज क्रमिक रूपमा अंग्रेजीमय बन्दै छ । अंग्रेजी भाषा जान्नु बौद्धिकताको प्रतीकका रूपमा लिइन्छ । यस किसिमको सामाजिक मनोविज्ञानबाट प्रभावित हुने अभिभावक आफैं अंग्रेजी सिक्न दिलोज्यान दिन्छन् । उनीहरू आफ्ना सन्ततिले पनि अंग्रेजीमा दक्षता (फरर अंग्रेजी बोल्नु) हासिल गरोस् भन्ने चाहन्छन् । उनीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपाली विषयको अस्तित्व नामेट पार्नतर्फ क्रियाशील हुन्छन् । उनीहरू सन्तानले एकदुई वटा अंग्रेजी शब्द बोले हसिलो अनुहार पार्छन् र सन्तानलाई भौतिक सामग्रीद्वारा पुरस्कृत गर्छन् । अभिभावकको यस किसिमको गतिविधिले बालबालिकाले नेपाली विषय मूल्यहीन भएको स्वीकार्छन् । नेपाली विषय शिक्षक नै आफ्ना सन्तानले अंग्रेजीलाई बढी समय दिएको चाहन्छन् । अभिभावकका यस किसिमका गतिविधिले बालबालिकामा नेपाली विषयप्रति नकारात्मक दृष्टिकोण विकास हुँदै गएको छ ।

नेपाली विषयप्रति नकारात्मक धारणा बनाउन निजी विद्यालयले बालबालिकालाई सहयोग गरिरहेका छन् । निजी विद्यालयले नेपाली विषयलाई कम प्राथमिकता दिएकाले विद्यार्थीमा नेपाली विषय कम मूल्यको रहेको भान हुन्छ । विद्यालय परिसरमा नेपाली शब्द बोल्ने विद्यार्थीलाई विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थीले नै शारीरिक, मानसिक र आर्थिक दण्ड गर्छन् । यस किसिमको दण्डले नेपाली सिक्नु र बोल्नु गलत कार्य भएको अवधारणा कलिला बालबालिकामा विकास हुँदै जान्छ । नेपाली भाषा बोलेबापत दिइने चरम याताना कारण विद्यार्थीमा नेपाली भाषा पढ्ने, बोल्ने र सिक्ने गतिविधितर्फ खासै चासो पाइँदैन । यसकारण नेपाली विषयको शैक्षिक गुणस्तर खस्कँदै गएको छ ।

विद्यालय प्रशासनले नेपाली विषय शिक्षक तथा शिक्षिकालाई समेत अंग्रेजी बोल्न बाध्य पार्न थालेका छन् । प्रधानाध्यापकहरू नेपाली विषय शिक्षकशिक्षकालाई सल्लाह दिँदै भन्छन्, ‘तपाईं पनि अंग्रेजी बोल्ने कोसिस गर्नुहोस् । यो त युनिभर्सल भाषा हो ।’

जवाफ आउँछ, ‘हुन्छ सर । म ट्राइ गर्छु ।’ नजानिँदो पारामा नेपाली विषय शिक्षकशिक्षिकाले अंग्रेजी सिकिरहेका छन् । अंग्रेजी सिक्नु हुँदैन, यो नेपाली भाषाको दुस्मन हो भन्न खोजेको होइन । विद्यालय प्रशासन, शिक्षकशिक्षिका र विद्यार्थी पनि नेपाली भाषाको अस्तित्व मेट्न जानीजानी या अन्जानमा लागिरहेका छन् ।

विद्यार्थीहरूले नेपाली विषयप्रति वितृष्णा देखाउनुमा विज्ञान र प्रविधिको पनि ठूलो हात छ । विद्यार्थीको मनोविज्ञान बुझेर बनाइका गीत, कार्टुन, मोबाइल खेल, तस्विर आदि कि हिन्दी कि अंग्रेजी भाषामा छन् । विद्यालयस्तरका केटाकेटी खुब कार्टुन हेर्छन्, कार्टुको कथा खरर भन्छन् । कार्टुनमा झै अभिनय गर्छन् । कार्टुनका संवाद कण्ठस्थ गर्छन् । जसलाई अंग्रेजी र हिन्दी भाषाको ज्ञान कम छ, त्यसले यी भाषा सिक्ने प्रयत्न गर्छ केवल कार्टुन बुझ्नका लागि । मोबाइलमा केटाकेटीका लागि उपलब्ध खेलका एप्स पनि अंग्रेजी भाषामै छ । विद्यार्थीले जता हेरे पनि अंग्रेजी देख्छ । त्यसैले उसले अंग्रेजीलाई स्पाइडर म्यानका रूपमा स्वीकार्छ ।

नेपाली भाषामा मनोरञ्जनात्मक कार्टुनहरू निर्माण गर्ने हो भने पनि नेपाली भाषाप्रति प्रेमभाव अंकुरण गर्न सकिन्छ विद्यार्थीहरूमा । शिक्षण सामग्री नेपाली भाषामैत्री नभएका कारण पनि विद्यार्थीले नेपाली भाषालाई महŒवपूर्ण मान्न सकेको छैन ।

भाषा ज्ञानप्राप्तिको माध्यम हो भनेर सबैले बुझ्नु खाँचो छ । विशेष गरी अभिभावक भाषाबारे यस्तो धारणा बनाउनुपर्छ । किनकि घर बालबालिकाको पहिलो विद्यालय हो । घरबाटै विद्यार्थीले रीतिरिवाज, चालचलन, संस्कृति र भाषा सिकेको हुन्छ । निरक्षर अभिभावकका लागि अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरी भाषाबारे स्पष्ट पार्न सकिन्छ । अभिभावकले आफ्ना सन्ततिलाई ठीकसँग भाषा सिकाउनुपर्छ । भाषा भाषाबीच तुलना गर्नाले बालबालिकामा नकारात्मक धारणा पैदा हुन्छ । तसर्थ अभिभावकले कहिल्यै कुनै पनि भाषाको विपक्षमा अभिव्यक्ति दिनु हुँदैन ।

विद्यालय प्रशासनले अंग्रेजी भाषा सिकाउने नाममा नेपाली भाषालाई उपेक्षा गर्नुहुँदैन । बरु राम्रोसँग अंग्रेजी वा नेपाली बोल्न, पढ्न र लेख्न सक्ने विद्यार्थीलाई पुरस्कृत गर्नुपर्छ । उनीहरूले आफ्ना भाषा र संस्कृतिलाई माया र इज्जत गर्न सिकाउनुपर्छ । भाषा ज्ञान आर्जनको माध्यम हो भनेर विद्यार्थीमा धारणा विकास गर्नुपर्छ । शिक्षण सिकाइका क्रममा नेपाली भाषामा लेखिएका शैक्षिक सामग्री पनि प्रयोग गर्नुपर्छ ।

नेपाली विषय शिक्षकशिक्षिकाको पनि नेपाली भाषाको संरक्षण र सवर्धन गर्न निकै ठूलो हात हुन्छ । शिक्षण गर्दा विद्यार्थीले नबुझेमा सरल पर्यायवाची शब्द प्रयोग गरेर बुझाउने कोसिस गर्नुपर्छ । विद्यार्थीसँग बोल्दा शतप्रतिशत विशुद्ध नेपाली भाषा प्रयोग गर्नुपर्छ । यसबाट पनि विद्यार्थीले नेपाली भाषामै राम्रोसँग वार्तालाप गर्न सकिन्छ भन्ने बुझ्छन् ।

जबसम्म नेपाली समाजको मनोविज्ञानबाट नेपाली भाषाप्रतिको वितृष्णा

हट्दैन, तबसम्म  नेपाली भाषा, कला, रीतिरिवाज र धर्म संस्कृति धराशायी हुन्छ । त्यसैले हामीमा गडेर रहेको नेपाली भाषाप्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । नेपाली कला, धर्म संस्कृति, रीतिरिवाज, भाषा आदि संरक्षण गर्ने पहिलो कदम प्रत्येक अभिभावक तथा घर मूलीबाट हुनुपर्छ । यसका लागि अभिभावक तथा घरमूलीले नेपाली भाषा, रीतिरिवाज, धर्मसंस्कृति आदिबारे बालबालिकासामु सधैं सकारात्मक धारणा राख्नुपर्छ ।

कुनै पनि भाषा शिक्षण सिकाइको माध्यमका साथै सञ्चार विनिमयको साधन हो । नेपाली भाषामै आकर्षक र मनोरञ्जनात्मक शैक्षिक सामग्री निर्माण गर्नेतर्फ सरोकारवालाहरूले सहयोग गर्नुपर्छ । विज्ञान र प्रविधिका क्षेत्रमा आबद्ध नेपालीहरूले नेपाली भाषा विज्ञान र प्रविधिका सामग्री आविष्कार गर्न उद्यत भए नेपाली भाषामै शिशु कक्षादेखि विश्वविद्यालयस्तरको पठनपाठन सुचारु गर्न सकिन्छ ।